“लाहुरेको खोज”
अठारौं शताब्दीतिर लाहुरेको जन्म भएर उनीहरूले आफ्नो बीरताको गौरवमय इतिहास कोर्न सफल भएको कुरा सर्वविदितै छ । जसले उनीहरूको संगठित भएर जस्तोसुकै परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाई सफलता हासिल गर्ने कुराको पुष्टि गर्दछ। तर अवकाश प्राप्त तिनै लाहुरेहरूले एकातिर आफ्नो र आफ्नो समाजको प्रगतिका लागि केही गर्न सकेका छैनन् भने अर्कातिर लाहुरे र लाहुरे समाज प्रतिको प्रचलित नकारात्मक सोच र धारणाहरूलाई पनि चिर्न सकेका छैनन्। यसको प्रमुख कारण अवकाश पछि उनीहरू संगठित हुन नसक्नु हो । अवकाश प्राप्त गरेपछि लाहुरेहरूले समाजमा उल्लेखनीय काम गरेको र समाजबाट सम्मानित भएको उदाहरण बिरलै र नगन्य छ । यसका साथै विकासको आधारस्तम्भ मानिने शिक्षाको क्षेत्रमा पनि उनीहरूको उपस्थिति उल्लेख्य र प्रत्यक्ष रुपमा देखिएको छैन।
नागरिक जीवन (Civil Life) देखि छुट्टिएर आफ्नो युवा अवस्था, जो जीवनको सवैभन्दा ऊर्जावान र क्षमतावान काल हो, विदेशको क्याम्प र ब्यारेकहरूमा कठोर अनुशासन र नियम भित्र बिताएपछि फर्केर फेरि नागरिक समाजको आफ्नै किसिमका दृश्य-अदृश्य नियम र बन्धनहरूमा आएर समायोजन (Adjust) हुनु कति कठिन छ भन्ने कुरा लाहुरेलाई नै थाहा छ। यसले गर्दा जुनसुकै काम गर्दा पनि उनीहरूले पाइलैपिच्छै अवरोधहरूको सामना गर्नुपर्छ ।
नागरिक समाज (Civil Society) का दृश्य-अदृश्य नियमहरूसँग अपरिचित र अनजान भएका कारण कार्यमा सफलता प्राप्त गर्न सफल हुदैनन् र समाजमा यदाकदा हाँसोको पात्र पनि बन्न पुग्छन्। एउटा लाहुरेको कमजोरी वा बिफलतालाई तमाम लाहुरे समुदायसँग जोडेर हेरिन्छ। त्यसैले लाहुरेहरूको आम समस्याहरूको समाधानको लागि एक आपसमा संगठित भएर एउटा संगठनको स्थापना हुन अनीवार्य छ। सामूहिक रुपमा कठिन कार्यलाई पनि सहजै हल गर्न सकिन्छ र यसले दुख-सुखमा सहयोग हुन्छ।
त्यसैले अलिकति भएपनि नराम्रो कामहरूलाई निरुत्साहित र राम्रो कामको उचित मूल्याङ्कन गरी अगाडि बढ्न सक्ने विश्वासको साथ एउटा संगठन निर्माणको काम सुरु गर्न लागिएको हो। यसको स्थापना र विकासले लाहुरेको सोचमा तथा जीवनशैलीमा भिन्नता ल्याउनु, दोस्रो पुस्तालाई सही मार्गदर्शन गर्नु र लाहुरेप्रतिको परम्परागत गलत सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउनु यसको मुख्य उदेश्य हो। र संगठनको नाम “लाहुरेको खोज” हुनेछ। यस संस्थाले निम्न क्षेत्रलाई समेटेर अगाडी बढ्नेछ-
१. संगठनको नाम – लाहुरेको खोज
२. लक्ष्यहरू-
(क) शैक्षिक विकास,
(ख) आर्थिक विकास र
(ग) सामाजिक विकास
(क) शैक्षिक विकास
समुचित शिक्षा विकासको लागि अपरिहार्य तत्व हो। त्यसैले शैक्षिक विकास यस समाजको प्राथमिकता हो। तर लाहुरे पृष्ठभूमिमा शैक्षिक जनशक्ति निक्कै कमजोर भएको हामी सबै लाहुरे दाजुभाईहरूलाई महसुस भएको छ। यसको मुख्य कारण २०/२१ बर्षको उमेरमा सैनिक सेवामा प्रवेश हो। यस क्षेत्रमा शारीरिक क्षमता बढि चाहिने हुँदा त्यसतर्फ बढी जोड दिएकाले शैक्षिक विकास ओझेलमा पर्छ र यसको प्रभाव लाहुरेका सन्तान अर्थात दोस्रो पुस्तामा पनि पर्न जान्छ । व्यक्तिगत रुपमा केही लाहुरेहरूले सैनिक सेवाबाट अवकाश लिएपछि पुन: उच्च शिक्षा हासिल नगरेको होईन, गरेका छन् तर त्यो संख्या नगन्य छ। यस समाजले पुन: अध्ययनको लागि अवकाश प्राप्त लाहुरेहरूलाई प्रोत्साहित गर्ने छ।
दोस्रो पुस्ताको कुरा गर्दा विद्यालय र पढ्ने विषयको समस्या देखिन्छ। जागिरमा हुँदा कसै कसैको छोराछोरीहरूले पढाई सके पनि अधिकांशले सकेका हुदैनन्। अवकाश पाएपछि पढाई बीचैमा छाडेर जानु पर्ने बाध्यता हुन्छ। यसरी पढाई बीचैमा छाडेर स्वदेश फर्किदा विद्यालयको परिबेश, बिषयहरू फरक र नयाँ हुन्छन् । जसले उनीहरूको पढाईमा प्रतिकुल प्रभाव पार्छ। यस परिस्थितिलाई सहजीकरण गर्नका लागि विद्यालय र पाठ्यक्रम मिल्दोजुल्दो बनाएर शैक्षिक विकास गरी दोस्रो पुस्ताको भविष्यलाई प्राथमिकता दिनु यस समाजको प्रमुख दायित्व हुनेछ । यस उद्देश्यको परिपुर्तिका लागि एउटा स्तरीय आवासीय विद्यालयको स्थापना गरिनेछ।
यसका साथै लाहुरेहरूको आधा आकाश अर्थात महिला जनशक्ति शिक्षित भएर पनि निष्क्रिय भएर बसेको छ। धेरै लाहुरेका श्रीमतीहरू उच्च शिक्षा बीए, एमए आदि) तथा प्राविधिक शिक्षा (मेडिसिन, ईन्जिनिएरिङ आदि) प्राप्त गरेका छन्। तर प्राप्त ज्ञान र सीपको सही उपयोग भैरहेको छैन। जसको उपयोगले उनीहरूलाई व्यक्तिगत तथा समाजलाई सामूहिक फाइदा हुने निश्चित छ। यस समाजले त्यस्ता योग्यता प्राप्त लाहुरेका श्रीमतीहरूको सीप र ज्ञानलाई उपयोग गर्न प्रोत्साहित गर्नेछ र ज्ञान, सीप, शिक्षा विकासमा निरन्तर लागिरहन अनुरोध गर्दछ।
(ख) आर्थिक विकास:
आर्थिक विकास नै सबै विकासको मेरुदण्ड हो। हुन त शिक्षा र ज्ञान धन सम्पत्ति भन्दा ठूलो हो तर अर्थ विना शिक्षा प्राप्ति पनि अत्यन्त कठिन छ आजको युगमा। लाहुरेहरू सामूहिक रुपमा अगाडि बढ्दा आर्थिक विकासको प्रचुर सम्भावनाहरू देखिन्छ। लाहुरेहरूमा सामूहिक सोचको अभाव छ। एक आपसमा विश्वास र सहकार्य न्यून छ। लाहुरेले व्यक्तिगत रुपमा आर्थिक विकासको परिकल्पना गर्छ जुन अत्यन्तै कठिन छ। त्यसैले सामूहिक लगानी गरेर आर्थिक विकासमा अगाडि बढ्ने आजको आवश्यकता हो। यो समाज लाहुरेहरूको निरन्तर आर्थिक विकासमा लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछ।
ग) सामुदायिक विकास:
लाहुरे समुदायका लागि चाहिने आधरभुत वस्तुहरूको परिपूर्ति हुनुलाई नै सामुदायिक विकास भनिएको हो। आधारभूत आवश्यक्ताहरू जस्तै : बाटो, आवास, पानी, बिजुली, शिक्षा आदिको समुचित व्यवस्था गर्नु यस समुदायको दायित्व हुनेछ। एउटा असल व्यक्तिमा ऊ हुर्केको समाजको प्रभाव सहजै देख्न सकिन्छ। यदि उसको समाज असल र सभ्य छ भने ऊ सहजै त्यस्तो हुन्छ । तर यदि समाज असल छैन भने व्यक्ति असल हुनलाई असाध्यै कठिन हुन्छ। त्यसैले यस समुहमा आवद्ध प्रत्येक परिवारका सदस्यहरूका लागि यी उपयुक्त आवश्यक्ताहरूको परिपूर्ति यसै समाजले गर्नेछ। लाहुरे समुदायको सर्वाङ्गीण विकास लाहुरेहरूकै काधमा छ। यस तथ्यलाई मनन गरी यो “लाहुरेको खोज” को अवधारणा अगाडि सारिएको हो।